त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताएका छन् ।
सूचनाका आधारमा दुई दिनअघिदेखि आफूहरु परिचालित भएको उनले बताएका छन् । शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर पाण्डेले भने, ‘त्यही सूचनाको आधारमा हिजो पनि प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ गरेका थियौं ।’
उनका अनुसार, भन्सार र प्ररहीको संयुक्त टोलीले विमानस्थलमा आउने र जाने शंकास्पद व्यक्तिहरुलाई निगरानी गरिरहेको थियो ।
‘अघिल्लो दिन पनि केही विमानलाई अनुसन्धानको दायरामा ल्याएका थियौं, तर सुराकी अनुसार मालवस्तु फेला परेको थिएन’, पाण्डेले थपे, ‘हिजो १० केजीजति सुन प्राप्त हुने सुराकीका आधारमा दिउँसादेखि परिचालित थियौं, राति १४ किलो फेला पर्यो ।’