राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीति दस्तावेजको प्रस्तावनामा कहाँ कसले हस्ताक्षर गर्ने भन्ने विषयमा विवाद भएको खुलेको छ ।
मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा केन्द्रीय र संसदीय दलको बैठक बसेको थियो । मंसिर ११ र १२ को बैठक सकिएपछि ‘नीतिविचार प्रतिनिधिमण्डल’को बैठक बस्ने गरी कार्यतालिका बनाइएको थियो । राजनीतिक दस्तावेजको प्रस्तावनालाई अन्तिम रुप दिन १७ जनाको टोलीमा छलफल भएको थियो ।
नीतिविचार प्रतिनिधिमण्डलले दुई दिनमा प्रस्तावनालाई टुंगो लगाउन नसकेपछि तेस्रो दिन विहान पुन बैठक डाकियो । १७ जनामा करिब सहमति भइसकेको प्रस्तावनालाई अन्तिम रुप दिन उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकाल र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको छुट्टै बैठक बस्यो । तिन नेताले प्रस्तावनालाई टुंगो लगाए ।
रास्वपा स्रोतका अनुसार प्रस्तावनाको माथिल्लो भागमा ढकाल, वाग्ले र परियारको हस्ताक्षर थियो । महामन्त्री ढकालले प्रतिनिधिमण्डलका अन्य सदस्यलाई प्रस्तावनाको तल्लो भागमा हस्ताक्षर गर्न आग्रह गरे । यही विषयले प्रतिनिनिमण्डलमा विवाद निम्तियो ।